काठमाडौं – नेपाल–भारत रेल्वे सम्झौता भएसँगै पहिलो पटक वीरगञ्ज सुख्खा बन्दरगाहमा निजी क्षेत्रको रेल आएको छ । आज हिन्द टर्मिनल प्रालिको भारतीय रेल सुख्खा बन्दरगाहमा आएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिनुभयो । ‘हल्दियाबाट एक र्याकको कार्गो रेल आज बिहान १० बजे सुख्खा बन्दरगाह आइपुगेको छ,’ उहाँले भन्नुभयो, ‘खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर छ ।’

२००४ सालमा नेपाल–भारत रेल सम्झौता भए पनि यसले पूर्णता पाएको थिएन । सम्झौतामा दुई पक्षीयबाट केही संशोधन गरेपछि यो कार्यान्वयनमा आएको निर्देशक गजुरेल बताउनुहुन्छ । योसँगै नेपाल आउने सामान ल्याउने कार्गो रेलमा भारतीय कम्पनीको सिन्डिकेट तोडिएको छ । अब सामुद्रिक बन्दरगाहसम्म नेपाली रेलको पहुँच हुनेछ ।

सम्झौतामा नेपाल आउने वस्तु जुनसुकै कार्गो रेलबाट आपूर्ति हुनेछ । हाल भारतको सरकारी कम्पनी कन्टेनर कर्पोरेसन इन्डिया लिमिटेडबाट मात्रै सामान ल्याउन पाइन्थ्यो । नेपालको रेल पनि सिधै कोलकत्ताको हल्दिया पोर्टसम्म जान सक्नेछन् र नेपाली रेलले नै सामान बोकेर सिधै नेपाल आउन सक्नेछन् । त्यस्तै कलकत्ताबाट विराटनगरसम्म सिधै रेलमा सामान आउन सक्नेछ भने अन्य प्रशासनिक विषयवस्तु पनि सहजीकरण गरिने भएको छ ।

नेपाल र भारत सरकारबीच रेल सेवा सम्झौता भएको करिब १७ वर्षसम्म भारत सरकारको स्वामित्वमा रहेको कम्पनीले मात्रै नेपालमा यो सेवा दिँदै आएको थियो । नेपाल सरकार र भारत सरकारबीच २०६१ सालमा रेल सेवा सम्झौता भएको थियो । भारतीय रेल्वेको भगिनी संस्था कोन्करले मात्र नेपालमा रेलमार्फत कन्टेनर ल्याउँदै आएको थियो । जुन, निजी क्षेत्रको प्रवेशसँगै तोडिएको हो । हिन्द टर्मिनलले हल्दिया बन्दरगाहबाट उक्त सामान ल्याएको इन्टरमोडलले जानकारी दिएको छ ।

भारत सरकारसँगको सम्झौतापछि निजी क्षेत्रले नेपालमा सामान ढुवानी गर्न बाटो खुलेको थियो । योसँगै, भारत सरकारको विगत १७ वर्षदेखिको एकाधिकार तोडिनुका साथै अन्य निजी कम्पनीबीच प्रतिस्पर्धा हुने देखिएको छ । फलस्वरुप :नेपाली आयात/निर्यातकर्ताले सहजै वैदेशिक व्यापार गर्न सक्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।