काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण आजको राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । बैठक शुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेपछि तेस्रो कार्यसूचीमा रहेको संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक असोज ५ गतेसम्मका लागि स्थगित भएको छ ।

आज पनि बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका सांसद भगवती न्यौपानेलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराउनुभएको थियो । उहाँले प्रतिनिधिसभाका सभामुखले आफ्नो कदम नसच्चाएसम्म बैठक चल्न नदिने बताउनुभयो । अध्यक्ष तिमल्सिनाले पटक–पटक बस्न आग्रह गरेता पनि विरोध कायमै रहेपछि कार्यसूचीमा रहेका केही विषय हटाइएको थियो ।

राष्ट्रिय सभामा आज विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने पहिलो कार्यसूची रहेको थियो । दोस्रो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने थियो ।

एमाले सांसदहरुको अवरोध भएपछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले कार्यसूचीको मुख्य दुई विषयलाई हटाएर शोक प्रस्ताव मात्रै पारित गरेर बैठक स्थगित गर्नुभएको हो । आगामी असोज ५ गते बस्ने गरी आजको बैठक स्थगित गरिएको छ ।