काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ । पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसका दिनमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेको ‘तर जरुरी प¥यो भने हामी सडकमा जानुपर्ने हुनसक्छ ।’

दिवङ्गत नेता बोगटीलाई सम्झिँदै अध्यक्ष प्रचण्डले अहिले माओवादीका माथिल्लो तहका नेताहरु बिग्रिएको तर, जनता र कार्यकर्ताहरु नबिग्रिएको र क्रान्तिकारी आन्दोलनका लागि तयार रहेको उहाँले बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्नुभयो, ‘क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पनि यही पार्टीभित्र रहेको पनि देखेँ । लाखौंको संख्यामा सडकमा आउन तयार रहेछन्,’ ‘जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका त हामी माथिका नेताहरु मात्रै रहेछौं । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’

प्रचण्डले क्रान्तिकारी विरासत भएको माओवादी आन्दोलन र नेतृत्वले बाटो बिराएको स्वीकार गर्नुभयो । ‘हामी हिजोका विरासतबाट विचलित जस्तो भएका छौं,’ उहाँले भन्नुभयो, ‘वर्ग, उत्पीडित जाति, समुदायका लागि सम्पूर्णरुपले समर्पित भएर बलिदान दिन तयार हुने पार्टी पंक्तिमा विचलन आएको छ ।’ युद्धको बेला अप्ठेरो ठाउँमा जिम्मेवारी लिन हानथाप गर्ने पार्टी पंक्ति अहिले गुट बनाएर फाइदा लिन मात्र केन्द्रित भएको बताउनुभयो । ‘अहिले पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थका लागि लगाव धेरै देखिएको छ ।’ ‘गुट बनाउनतिर बढी जाँगर आउने, पार्टी बनाउने भन्दा गुट बनाउँदा फाइदा हुन्छ कि भन्ने सोच्ने प्रवृत्तिको बिस्तारै बिस्तारै विकास भएको छ ।’

प्रचण्डले झण्डै÷झण्डै प्रतिगमन र प्रतिक्रान्तितिर जाने अवस्थाबाट देशलाई आफूहरुले जोगाएको जिकिर समेत गर्नुभयो । सम्बोधनको क्रममा उहाँले दिवंगत नेता बोगटीलाई पटक–पटक स्मरण गर्नुभयो । बोगटीले नेतृत्वको आलोचना गरे पनि मुख्य नेतृत्वलाई सहयोग गर्ने भावना कहिल्यै नभुलेको स्मरण उल्लेख गर्नुभयो । दिवंगत नेता बोगटीले पार्टी एकताको प्रतिकको रुपमा भूमिका खेलेको पनि उल्लेख गर्नुभएको छ ।