काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समितिले पार्टीको विधान पारित गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी समिति बैठकले केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्ने गरी पार्टीको विधान पारित गरेको हो ।

बैठकले पार्टीको निर्वाचन आयोग पनि गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठकले आयोगलाई पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन कसरी गर्ने भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी पनि दिएको छ ।

आयोगलाई आफ्नो नियमावली र निर्देशिका बनाउन जिम्मा दिएको महराले बताउनुभयो । त्यस्तै बैठकले माओवादीसँगको एकताका क्रममा आएका विभिन्न तहका नेता कार्यकर्ताको समायोजन र उचित जिम्मेवारी प्रदान गर्नका लागि गठित कार्यदलको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको प्रवक्ता महराले बताउनुभएको छ ।

प्रवक्ता महराले स्थायी समितिको बैठकले अहिलेसम्म सम्पर्कमा आएका ४५ वटा पार्टीबाट विद्रोह गरेका नेताहरुलाई कसरी समायोजन गर्ने र यससम्बन्धी कार्यान्वयनका लागि बनेको गठित कार्यदलले प्रतिवेदनको पूरा रुप दिन आग्रह गरिएको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टीको विधानलाई अन्तिम रुप दिनको निमित्त भाषा सम्पादन गर्ने केही साथीहरुलाई जिम्मेवारी दिइएको थियो । आज अलिकति थपघट भाषामा हेरफेर गर्नुपर्ने आवश्यकता रहेकाले त्यो सक्ने र केही चिज परिमार्जन गर्ने भएमा परिमार्जन गर्ने तर त्यो आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले अनुमोदन गर्ने गरी विधान पास गरियो ।’

माओवादी केन्द्रले पार्टीका केन्द्रीय आयोगहरूलाई २५ सदस्यीय तथा विभागहरू ३५ हुने व्यवस्था गर्दै आयोग तथा विभागमा रहने नेताहरूको सिफारिस गर्न सुझावहरू सङ्कलन गर्ने निर्णय पनि गरेको छ ।