गोरखा – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्दा नै राष्ट्रको हित हुने बताउनुभएको छ । गोरखा सदरमुकाममा हिजो आयोजित पत्रकार भेटघाट कार्यक्रममा डा.भट्टराईले एमसीसीजस्ता विषयमा राष्ट्रिय दलबीचमा समझदारी आवश्यक रहेको बताउनुभयो ।

“एमसीसीको विषय अहिले पेचिलो रूपमा उठेको छ”, उहाँले भन्न्ुभयो, “यस्ता राष्ट्रिय मामिलाका विषयमा प्रमुख दलबीच समझदारी बनाएर नै अगाडि बढ्नुपर्छ ।” पूर्वप्रधानमन्त्री डा. भट्टराईले दलगत राजनीति र दलभित्रका पनि गुटगत राजनीतिका निम्ति राष्ट्रियताका प्रश्नलाई गिजोल्याउने काम गर्न नहुने आफ्नो मान्यता रहेको बताउनुभयो । “एससीसी पनि विशुद्ध रूपमा एउटा परियोजना अनुदान सम्झौता हो । यस्ता सम्झौता थुप्रै देशसँग हुने गरेका छन्,” उहाँले भन्न्ुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले विगतमा यस्ता सम्झौता गर्दा विवाद बढी देखिएकाले पनि राष्ट्रिय सहमति जुटाउन सहज हुन्छ भन्ने ढङ्गले नेपालकै तर्फबाट माग गरेर संसद्बाट अनुमोदनको बुँदा एमसीसी सम्झौतामा राखिएको पाइएको बताउनुभयो । उहाँले एमसीसीको विषयमा सरकारमा रहँदा एउटा र सरकार बाहिर हुँदा अर्को कुरा गर्ने नेपालका राजनीतिक दलको प्रवृत्ति कारण यस्ता खालका सहमति र सम्झौतामा समस्या हुने गरेको बताउनुभएको छ ।

“केही दल खास गरी हाम्रा पूराना कम्युनिष्ट साथीको जुन एउटा धङ्धङ्गी छ, त्यो धङधङ्गी छोड्न नसकेका कारण पार्टीको आन्तरिक सङ्घर्ष पनि प्रतिबन्धित हुन पुग्यो,” डा. भट्टराइले भन्न्ुभयो । उहाँले दलहरूले छिटोभन्दा छिटो सहमति गरेर सम्झौतालाई अनुमोदन गर्ने कुरा नै राष्ट्रिय हितमा हुने दाबी गर्नुभयो । उहाँले जसपा एक्लैले निणर्य गर्न सक्ने अवस्था नरहेको भन्दै एमसीसी राष्ट्रिय सहमतिबाट नै टुङ्गो लागोस् भन्ने पार्टीको धारणा रहेको बताउनुभयो । रासस