काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहमतिमा नआए पनि बजेट प्रतिस्थापन विधेयक पारित हुने बताउनुभएको छ । हिजो सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले बजेट पारित गर्न द्वन्द्वको विकल्पमा जानुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।

देउवाले भन्नुभयो– ‘सहमतिमा नआएको अवस्थामा बजेट पास गर्न द्वन्द्वको विकल्पमा जानुपर्ने हुन्छ । त्यसकारण वार्ता, छलफल र सहमतिको लागि गठबन्धन तयार छ । उहाँहरु (एमाले) सहमति र सम्वादमा आउन जरुरी छ ।’ प्रधानमन्त्री देउवाले अहिले सरकारलाई परेको समस्या प्रमुख प्रतिपक्षीलाई पनि भविष्यमा आउन सक्ने उल्लेख गर्दै एमालेले सोच्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– सरकारलाई भदौ ३० गतेभित्र बजेट प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने बाध्यता छ ।

बैठकमा काङ्ग्रेस नेता समेत रहनुभएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिनिधिसभा सञ्चालन गर्न सहमतिको प्रयास जारी राखिएको बताउनुभएको छ । कार्कीले सदनबाट बजेट पास गर्नुपर्ने, नियम निलम्बन गरी अघि बढ्न प्रमुख प्रतिपक्षको सहमति चाहिने र उत्पन्न गतिरोध हल गर्न आफूले अनौपचारिक र औपचारिक पहल गरेको उल्लेख गर्नुभयो ।

आफूले संसदको गतिरोध अन्त्य गर्ने उद्देश्यले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग उनकै निवासमा पुगेर छलफल गरेको पनि मन्त्री कार्कीले बताउनुभयो । एमालेले लगातार संसदमा नाराबाजी जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले हिजो संसदमा दलका शीर्ष नेताहरुको बैठक बोलाउनुभएको थियो । तर एमालेका नेताहरु उक्त बैठकमा सहभागी भएनन् ।